ArthaDrishti.com
16/Jun/2026
अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो हङकङमा नेपालको बलियो उपस्थिति, पर्यटन बजार विस्तारको प्रयास
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आठ नेपाली पर्यटन व्यवसायी कम्पनीसँगको सहकार्यमा हङकङमा आयोजित ‘इन्टरनेसनल ट्राभल एक्स्पो (आईटीई) हङकङ २०२६’ मा सहभागिता जनाउँदै नेपालको पर्यटन...
जुन ११ देखि १४ तारिखसम्म हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टरमा सम्पन्न उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल प्याभिलियनमार्फत नेपालको विविध पर्यटन गन्तव्य तथा पर्यटन उत्पादनहरू अन्तर्राष्ट्रिय बजारसमक्ष प्रस्तुत गरिएको थियो।
चार दिनसम्म चलेको प्रदर्शनीमा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यमा आधारित पर्यटन, धार्मिक तथा तीर्थाटन, विलासितापूर्ण यात्रा (लक्जरी ट्राभल) लगायतका पर्यटन उत्पादनहरू प्रवर्द्धन गरेको थियो। साथै नेपाली सहभागी कम्पनीहरूले प्रस्तुत गरेका वेलनेस तथा स्वास्थ्य पर्यटनसम्बन्धी प्याकेजहरूले पनि प्रदर्शनीमा आएका आगन्तुकहरूको विशेष ध्यान आकर्षित गरेका थिए।
प्रदर्शनीमा सहभागी नेपाली पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय ट्राभल व्यवसायी, सम्भावित साझेदार तथा उपभोक्तासँग भेटघाट गर्दै विभिन्न लक्षित बजारलाई केन्द्रित गरी तयार गरिएका आकर्षक यात्रा प्याकेज तथा अनुकूलित भ्रमण योजनाबारे जानकारी गराएका थिए।
नेपालको प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत आयोजित गन्तव्य प्रस्तुतीकरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाले नेपालको समृद्ध पर्यटन स्रोत, विश्वप्रसिद्ध गन्तव्य तथा सांस्कृतिक विविधताबारे प्रस्तुति दिएका थिए।
त्यसैगरी हङकङस्थित नेपाली कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले प्रदर्शनीको आकर्षण थप बढाएको थियो। नेपाली परम्परागत नृत्य तथा सांगीतिक प्रस्तुतिमार्फत आगन्तुकहरूले नेपालको बहुआयामिक सांस्कृतिक सम्पदाको झलक अवलोकन गर्ने अवसर पाएका थिए।
नेपालको सहभागिता सफलतापूर्वक सम्पन्न भएको जनाउँदै नेपाल पर्यटन बोर्डले यसबाट हङकङ बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्नुका साथै नेपाली पर्यटन व्यवसायीहरूका लागि व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर सिर्जना भएको जनाएको छ।
प्रदर्शनीमा नेपालको सफल सहभागिताका लागि हङकङस्थित नेपाली महावाणिज्य दूतावासले महत्वपूर्ण सहयोग गरेको बोर्डले जनाएको छ।
नेपाल पर्यटन बोर्डले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको उपस्थिति विस्तार गर्दै विश्वका पर्यटकमाझ नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आईटीई हङकङ २०२६ मा नेपाल पर्यटन बोर्डका तर्फबाट वरिष्ठ अधिकृत खेमराज तिमल्सेना र वरिष्ठ अधिकृत नारायणप्रसाद बस्याल सहभागी भएका थिए। प्रदर्शनीमा नेपालबाट नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, पर्ल होलिडेज, द ट्रेक नेपाल, एक्सप्लोर हिमालय ट्राभल एन्ड एड्भेन्चर, ड्रागन होलिडेज, हाई पिक एड्भेन्चर, सिनिक एड्भेन्चर ट्रेक्स एन्ड एक्स्पिडिसन तथा हिमालय समिट क्लब सहभागी भएका थिए।