ArthaDrishti.com
16/Jun/2026
श्रम बजारको माग–आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारी–निजी क्षेत्रको सहकार्य आवश्यक
काठमाडौं । श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित तथा दिगो रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत तथा प्रभावकारी सहकार्य...
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘निजी क्षेत्रको संलग्नतामा रोजगार सेवा केन्द्रको प्रभावकारी सञ्चालन रणनीति सम्बन्धी राष्ट्रिय कार्यशाला’मा सहभागी वक्ताहरूले रोजगार सेवा केन्द्रहरूलाई श्रम बजारको मागअनुसार सक्षम र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका हुन्।
रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीचको विद्यमान सहकार्य तथा संलग्नताको अवस्थागत अध्ययन गर्दै रोजगारदाता, सीप विकास तालिम प्रदायक र रोजगार सेवा केन्द्रबीच दिगो तथा प्रभावकारी साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा बदलिँदो विश्व श्रम बजार, प्रविधिको बढ्दो प्रभाव तथा रोजगार सेवा केन्द्रहरूको भूमिका सम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।
कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव तथा आन्तरिक रोजगार समन्वय महाशाखा प्रमुख हेमराज तामाङले स्थानीय तहमा सञ्चालित रोजगार सेवा केन्द्रहरूको क्षमता अभिवृद्धि तथा प्रभावकारी सञ्चालनका लागि सरोकारवालाहरूबीच गहन छलफल गरी स्पष्ट रोडम्याप तयार गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले रोजगार सेवा केन्द्रहरूलाई रोजगारदाता र रोजगारी खोज्ने जनशक्तिबीचको दूरी कम गर्ने ‘ब्रिज’ का रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको भूमिका यसमा अत्यन्त महत्वपूर्ण रहेको बताए। उद्योग–व्यवसायलाई आवश्यक पर्ने जनशक्तिको पहिचान तथा श्रम बजारको मागअनुसार सेवा केन्द्रहरूलाई प्रभावकारी बनाउन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
तामाङले रोजगार सेवा केन्द्रहरूको प्रभावकारी सञ्चालनका लागि मन्त्रालय नीतिगत सुधार गर्न तयार रहेको र सरोकारवालाहरूबाट प्राप्त सुझावलाई प्राथमिकताका साथ सम्बोधन गरिने बताए। साथै ‘सीप, रोजगार तथा उद्यम’ कार्यविधि तयार भई सबै रोजगार सेवा केन्द्रमा पठाइसकिएको जानकारी पनि दिए।
आइएलओ नेपालका देशीय निर्देशक नुमान ओज्कानले रोजगार सेवा केन्द्रहरूलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवालाहरूको साझा जिम्मेवारी रहेको बताए। उनले डिजिटल श्रम बजारको विस्तारसँगै नेपाली युवाहरूलाई प्रतिस्पर्धी बनाउन सामाजिक सुरक्षा र श्रमिक अधिकार सुनिश्चित गर्दै रोजगार सेवा केन्द्रहरूलाई परियोजनामुखी नभई संस्थागत कार्यक्रमका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
उनले रोजगार सेवा केन्द्रहरूलाई आधुनिक प्रविधिमैत्री बनाउनु आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आइएलओले आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले रोजगारदाताहरू केवल रोजगारी प्रदान गर्ने संस्था मात्र नभई गतिशील र उत्तरदायी श्रम बजार निर्माणका प्रमुख साझेदार भएको बताए।
उनले उद्योग–व्यवसायलाई दक्ष, सीपयुक्त तथा उत्पादक जनशक्तिको आवश्यकता रहेको तर अर्कोतर्फ हजारौं युवा रोजगारीको खोजीमा विदेशिने क्रम जारी रहेको उल्लेख गर्दै रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीचको सहकार्य थप सुदृढ बनाउनुपर्ने बताए।
डिजिटल प्लेटफर्ममार्फत सिर्जित रोजगारीका अवसरलाई प्रोत्साहन गर्न तथा रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीचको दूरी कम गर्न रोजगार सेवा केन्द्रहरूले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिँदै पाण्डेले सार्वजनिक र निजी क्षेत्रबीचको निरन्तर संवाद, विश्वास र सहकार्यबाट मात्रै यो लक्ष्य हासिल गर्न सकिने बताए।
महासंघका उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले रोजगार service केन्द्रहरूले स्थानीय तहमा श्रम बजार सूचना प्रवाह, रोजगार परामर्श, सीप विकासका अवसरको जानकारी तथा रोजगारदातासँग समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।
उनले रोजगार सेवा केन्द्रहरूको प्रभावकारिता बढाउन सेवा प्रवाहको गुणस्तर सुधार, तथ्यांक व्यवस्थापन, डिजिटल प्रणालीको प्रयोग तथा निजी क्षेत्रसँगको कार्यगत समन्वयलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए।
कार्यक्रमको प्राविधिक सत्रमा स्रोत व्यक्ति महेश हाडा र हंसराम पाण्डेले मधेश तथा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यशालाबाट प्राप्त सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले राष्ट्रिय स्तरका सरोकारवालाबाट प्राप्त सुझाव समेटेर रणनीतिलाई अन्तिम रूप दिइने जानकारी दिए।
कार्यशालामा सहभागी विभिन्न संघसंस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले रोजगार सेवा केन्द्रहरूलाई थप उपयोगी, व्यावहारिक र नवप्रवर्तनमैत्री बनाउने, साथै देशभित्रै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने गरी रणनीति तयार गर्नुपर्ने सुझाव दिएका थिए।
महासंघका सहायक निर्देशक हरि पौडेलका अनुसार कार्यशालाबाट प्राप्त सुझावहरूले रोजगार सेवा केन्द्रहरूको प्रभावकारिता अभिवृद्धि गर्दै देशभित्रै रोजगारी सिर्जना र श्रम बजार व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।