Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

09/Jun/2026
बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको निष्कर्ष, ‘निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन: अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सकारात्मक दिशा समातेको भए पनि यसको वास्तविक सफलता प्रभावकारी कार्यान्वयनमा निर्भर...

रहने जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आयोजित नीति संवाद कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले बजेट केवल आय–व्ययको विवरण नभई राज्यको आर्थिक सोच, प्राथमिकता र भविष्यको दिशाको प्रतिबिम्ब भएको बताए।

“निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन। हामी यसलाई एउटै दृष्टिकोणबाट हेर्छौं—के यसले लगानीको वातावरण सुधार्छ, उत्पादन बढाउँछ र स्वदेशमै रोजगारी सिर्जना गर्छ? यही आधारमा हेर्दा म यो बजेटलाई शंकाको लाभ दिन चाहन्छु,” अध्यक्ष श्रेष्ठले भने।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनले बजेटले दशकौँदेखि अर्थतन्त्रलाई गाँज्दै आएको संरक्षणवाद, अनौपचारिकता र प्रशासनिक जटिलताको चक्र तोड्ने प्रयास गरेको उल्लेख गर्दै संरचनागत तथा कानुनी सुधारतर्फ सरकारको पहललाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।

उनका अनुसार १५ वटा पुराना कानुन खारेजीका लागि संशोधन विधेयक संसद्मा लैजाने, उधारो असुली, बौद्धिक सम्पत्ति संरक्षण तथा ‘सनसेट’ कानुन ल्याउने घोषणाले व्यवसायमैत्री वातावरण निर्माणमा योगदान पुर्‍याउनेछ। त्यस्तै ३१ सरकारी निकाय खारेज गर्ने, केही निकाय गाभ्ने तथा पुनर्संरचना गर्ने निर्णयले प्रशासनलाई थप छरितो र मितव्ययी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।

वैदेशिक लगानी स्वीकृतिका लागि स्वचालित प्रणाली, लगानी फिर्ता लैजान राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने व्यवस्था तथा सीमित दायित्वको साझेदारीसम्बन्धी कानुन ल्याउने घोषणाले लगानीकर्ताको विश्वास बढाउने महासंघको विश्वास छ। यद्यपि उत्कृष्ट नीति पनि निकायबीचको समन्वय अभावका कारण कार्यान्वयनमा समस्या आउन सक्ने भएकाले सरकार विशेष सचेत हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताए।

औद्योगिक क्षेत्रका लागि उद्योग विस्तार तथा पुँजी वृद्धि गर्दा उद्योग विभागलाई जानकारी मात्रै दिए पुग्ने व्यवस्था, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रभित्रका संरचनालाई बैंकिङ धितोका रूपमा प्रयोग गर्न पाउने सुविधा र लघु, साना तथा मझौला उद्यमका वित्तीय समस्या समाधान गर्न दामासाही ऐन संशोधन गर्ने घोषणा सकारात्मक रहेको महासंघको धारणा छ।

ऊर्जा क्षेत्रतर्फ नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना, ‘टेक अर पे’ प्रणालीमा नयाँ विद्युत खरिद सम्झौता, १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको तत्काल पीपीए तथा निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापारको अनुमति दिने व्यवस्थाले ऊर्जा क्षेत्रलाई थप लगानीयोग्य बनाउने महासंघले जनाएको छ।

त्यसैगरी पुँजी बजारमा पुँजीगत लाभकरलाई अन्तिम कर मान्ने निर्णय, नेप्सेको पुनर्संरचना तथा इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभजस्ता आधुनिक उपकरणको सुरुआतले बजारमा तरलता र गहिराइ बढ्ने अपेक्षा गरिएको छ। व्यक्तिगत आयकर छुटको सीमा वृद्धि, अधिकतम करदरमा कटौती तथा आयकर ऐनको दफा ५७ मा सुधारले मध्यम वर्गको क्रयशक्ति बढाएर आन्तरिक मागलाई पुनर्जीवित गर्न सहयोग पुग्ने महासंघको विश्वास छ।

सूचना प्रविधि क्षेत्रका लागि सेवा निर्यातमा ५० प्रतिशत कर छुट, स्वेट इक्विटीको व्यवस्था, विदेशमा लगानी खुला गर्ने नीति तथा काठमाडौंको स्युचाटारमा सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने घोषणा सूचना प्रविधि क्षेत्रको विकासका लागि महत्वपूर्ण कदम भएको अध्यक्ष श्रेष्ठले बताए।

यद्यपि बजेटका केही पक्ष पुनर्विचार गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको भनिए पनि अन्य शीर्षकमा समायोजन गरिएकाले करको वास्तविक भार उल्लेखनीय रूपमा नघटेको धारणा राखे। त्यस्तै २७३ औद्योगिक कच्चा पदार्थमा भन्सार घटाइए पनि अधिकांश सहायक कच्चा पदार्थमा मात्र राहत दिइएको र मुख्य कच्चा पदार्थमा अपेक्षित सहुलियत नआएको उनको भनाइ थियो।

कृषि औजारमा भन्सार दर १ प्रतिशतबाट ५ प्रतिशत पुर्‍याइएको निर्णयले साना किसानलाई प्रत्यक्ष असर गर्ने भन्दै त्यसलाई पुनः १ प्रतिशतमै कायम गर्न उनले सरकारसँग आग्रह गरे। कर विवाद समाधानका लागि ल्याइएको छुट योजनाको समयसीमा कम्तीमा २०८३ चैत मसान्तसम्म विस्तार गर्नुपर्ने सुझाव पनि उनले दिए।

स्टार्टअप कर्जाको व्यवस्था सकारात्मक भए पनि स्टार्टअपको स्पष्ट परिभाषा, ऋण वितरणको मोडालिटी तथा ब्याजदरबारे थप स्पष्टता आवश्यक रहेको उनले बताए।

अध्यक्ष श्रेष्ठले नेपालको विकास योजनाको मुख्य चुनौती अझै पनि कार्यान्वयन पक्षमै रहेको उल्लेख गर्दै चालु खर्च कुल बजेटको झण्डै ६० प्रतिशत र पुँजीगत खर्च करिब २० प्रतिशतमा सीमित हुनु चिन्ताको विषय भएको बताए। परियोजना कार्यान्वयनमा ढिलाइ, कमजोर खर्च क्षमता, नीतिगत अस्थिरता तथा अन्तरनिकाय समन्वयको अभावले बजेटका सकारात्मक पक्षलाई समेत कमजोर बनाउन सक्ने महासंघको निष्कर्ष छ।

महासंघले सरकारसमक्ष तीन प्रमुख सुझाव पनि प्रस्तुत गरेको छ। बजेटमा घोषणा गरिएका नीतिहरू समयमै कार्यान्वयन गर्नुपर्ने, कर प्रणालीमा देखिएका अस्पष्टता तथा अन्तरविरोध तत्काल सच्याउनुपर्ने र नागरिक एपमा ‘बिजनेस आइकन’ थपेर व्यवसाय दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रिया एकीकृत गर्नुपर्ने माग महासंघले गरेको छ।

अध्यक्ष श्रेष्ठले सरकारको भूमिका उद्योग सञ्चालन गर्नु नभई उद्योग सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नु भएको उल्लेख गर्दै राज्य निष्पक्ष नियामक, सक्षम सहजकर्ता तथा प्रभावकारी सेवा प्रदायक बन्नुपर्ने धारणा राखे। उद्योग, लगानी, नवप्रवर्तन, रोजगारी र सम्पत्ति सिर्जनाको मुख्य जिम्मेवारी निजी क्षेत्रले वहन गर्ने उनको भनाइ थियो।

उनले सार्वजनिक–निजी साझेदारीलाई केवल वित्तीय स्रोत जुटाउने माध्यमका रूपमा नभई विकासको नयाँ कार्यशैलीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। स्थिर सरकारको वर्तमान अवसरलाई आर्थिक रूपान्तरणमा बदल्नुपर्ने उल्लेख गर्दै सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सरकार र निजी क्षेत्र दुवैको साझा आकांक्षा भएको बताए।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, कार्यकारिणी सदस्य अरनिको राजभण्डारी, चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डे, समृद्धि फाउन्डेसनकी निर्देशक अर्पिता नेपाल तथा कानुनी एवं नीतिगत विज्ञ अनुप उप्रेतीले बजेटका विभिन्न पक्षमाथि आफ्ना धारणा राखेका थिए।

Share 112 बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको निष्कर्ष, ‘निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन: अध्यक्ष श्रेष्ठ
  • Share
      बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको निष्कर्ष, ‘निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन: अध्यक्ष श्रेष्ठ
      बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको निष्कर्ष, ‘निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन: अध्यक्ष श्रेष्ठ

        काठमाडौं । नेपाल उद्योग �

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar