ArthaDrishti.com
05/Jun/2026
नेपालमा उबरको औपचारिक प्रवेश, दक्षिण एसियामा एक दशकपछि नयाँ बजार विस्तार
काठमाडौं | विश्वप्रसिद्ध राइड–हेलिङ कम्पनी Uber ले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। कम्पनीको नेपाल प्रवेशसँगै नेपाल एशिया–प्रशान्त (APAC) क्षेत्रभित्र उबरको ११औँ...
उबरले प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा चारपांग्रे सवारीतर्फ Uber Go र Uber Comfort तथा दुईपांग्रे सवारीतर्फ Uber Bike सेवा उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार यी सेवामार्फत यात्रुले सहज, भरपर्दो र सुविधाजनक यात्राको अनुभव प्राप्त गर्न सक्नेछन्।
नेपालमा सेवा विस्तारसँगै उबरको विश्वव्यापी सञ्जालमा नेपाल पनि जोडिएको छ। हाल उबर ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ। कम्पनीले एउटै एपमार्फत विभिन्न देश र शहरमा यात्रा गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ।
उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक (राइड्स) डोमिनिक टेलरले नेपालमा सेवा विस्तार गर्न पाउँदा उत्साहित रहेको बताउँदै नेपाल तीव्र गतिमा डिजिटल रूपान्तरण हुँदै गएको, शहरी यातायातको आवश्यकता बढ्दै गएको तथा पर्यटन क्षेत्र विस्तारोन्मुख रहेको बजार भएको उल्लेख गरे।
उनले भने, “दक्षिण एसियामा एक दशकपछि नयाँ बजारका रूपमा नेपालमा प्रवेश गर्नु हाम्रो वृद्धि यात्राको महत्वपूर्ण उपलब्धि हो। हामी यात्रु, चालक तथा आगन्तुकहरूको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्दै नेपालको यातायात क्षेत्रको विकासमा योगदान पुर्याउन चाहन्छौँ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको अर्थतन्त्रमा पर्यटन प्रमुख आधारस्तम्भ रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय यात्रु तथा स्वदेशी नागरिकका लागि सहज यातायात सेवा उपलब्ध गराउन उबरको आगमनले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले उबरको नेपाल प्रवेशले आधुनिक, डिजिटल तथा समावेशी यातायात प्रणाली निर्माणको सरकारी लक्ष्यलाई थप सहयोग पुग्ने बताए। उनले यसले रोजगारी सिर्जना, शहरी गतिशीलता सुधार तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
पछिल्ला वर्षहरूमा नेपालमा स्मार्टफोन प्रयोगकर्ता संख्या, डिजिटल भुक्तानी प्रणाली तथा अनलाइन सेवाप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। पर्यटन क्षेत्रको विस्तार र सहज सार्वजनिक यातायातको बढ्दो मागबीच उबरको आगमनले यात्रुहरूलाई थप विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।
सन् २०१० मा स्थापना भएको उबरले विश्वभर अर्बौं यात्राको अनुभव प्रदान गरिसकेको छ। कम्पनीले यातायात, खाद्य वितरण तथा अन्य डिजिटल सेवामार्फत विश्वभरका शहरहरूलाई जोड्ने लक्ष्यका साथ आफ्नो सेवा विस्तार गर्दै आएको छ।