ArthaDrishti.com
05/Jun/2026
बंगलादेश भ्रमणले नेपाल–बंगलादेश मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्यो
काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजेएन) को प्रतिनिधिमण्डलले हालै सम्पन्न गरेको बंगलादेश भ्रमणले नेपाल–बंगलादेशबीचको मित्रता, फोटो पत्रकारिता, सांस्कृतिक आदान–प्रदान तथा पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाएको...
समूहका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटो पत्रकार टोली बंगलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनको निमन्त्रणामा ढाका पुगेको थियो। दुई देशबीच विगत दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भ्रमण आयोजना गरिएको समूहले जनाएको छ।
टोलीमा वरिष्ठ उपाध्यक्ष लेखबहादुर ‘सागर’ श्रेष्ठ, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, केन्द्रीय सदस्य मुकुन्द कालिकोटे, अनुप प्रधान, हरिसिंह नागल, सिन्धुली शाखा अध्यक्ष उद्धव श्रेष्ठ, पोखरा शाखा सचिव प्रेमबहादुर थापा तथा सदस्य रामशरण महर्जन सहभागी थिए।
भ्रमणको क्रममा ढाकामा ‘सुन्दर नेपाल’ शीर्षकको फोटो प्रदर्शनी आयोजना गरिएको थियो। प्रदर्शनीमा नेपालको हिमाल, पहाड, तराई, धार्मिक सम्पदा, सांस्कृतिक विविधता, जनजीवन तथा प्राकृतिक सौन्दर्य झल्काउने ४० भन्दा बढी तस्बिर प्रदर्शन गरिएको थियो।
बंगलादेशका प्रदेश सूचना मन्त्री यसिर खान चौधरी प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली फोटो पत्रकारहरूले खिचेका तस्बिरमार्फत नेपाललाई पर्यटन गन्तव्य मात्र नभई सांस्कृतिक र प्राकृतिक सम्पदाले सम्पन्न राष्ट्रका रूपमा प्रस्तुत गरिएको थियो।
प्रदर्शनी अवलोकन गरेका बंगलादेशी सञ्चारकर्मी, विशिष्ट अतिथि तथा दर्शकहरूले नेपाली फोटो पत्रकारहरूको सिर्जनशीलता र प्रस्तुतीकरणको उच्च प्रशंसा गरेका थिए।
ढाकास्थित प्रेस इन्स्टिच्युट अफ बंगलादेश (PIB) मा ‘Photographer on the Street’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार पनि आयोजना गरिएको थियो। कार्यक्रममा सडक आन्दोलन, जनआन्दोलन र द्वन्द्वका समयमा फोटो पत्रकारिताको भूमिका, प्रेस स्वतन्त्रता, सुरक्षा चुनौती तथा व्यावसायिक जिम्मेवारीका विषयमा छलफल भएको थियो।
PIB का महानिर्देशक फारुक वासिफले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन फोटो पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। बंगलादेश जर्नालिस्ट वेलफेयर ट्रस्टका प्रबन्ध निर्देशक बशिर जमालले संकटका बेला सत्य र यथार्थ चित्रणमा फोटो पत्रकारहरूको जिम्मेवारी अझ बढ्ने उल्लेख गरे।
कार्यक्रममा अध्यक्ष प्रदीपराज वन्तले नेपालमा फोटो पत्रकारिताको विकासक्रम, वर्तमान अवस्था तथा विभिन्न आन्दोलनका क्रममा फोटो पत्रकारहरूले निर्वाह गरेको भूमिकाबारे प्रस्तुति दिएका थिए। वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले नेपालको जनआन्दोलनका क्रममा फोटो पत्रकारहरूले खेलेको भूमिकाबारे चर्चा गरेका थिए।
ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका १० सदस्य सम्मानित भएका छन्।
बंगलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसहित विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समूहका अध्यक्ष वन्तले उक्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली फोटो पत्रकारिताले अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेको प्रतिष्ठाको रूपमा लिनुपर्ने बताए।
भ्रमणका क्रममा नेपाली टोलीले बंगलादेशका सूचना तथा प्रसारण मन्त्री जाहिर उद्दिन स्वपनसँग भेटवार्ता समेत गरेको थियो। भेटमा मन्त्री स्वपनले नेपाल–बंगलादेश सम्बन्धलाई अझ बलियो बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
भ्रमणले नेपाल–बंगलादेशबीच फोटो पत्रकारिता, पर्यटन तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गरेको सहभागीहरूले बताएका छन्।
समूहका अनुसार भ्रमणबाट नेपालको पर्यटन, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको अन्तर्राष्ट्रिय प्रचार–प्रसार भएको छ भने नेपाली फोटो पत्रकारहरूले अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने अवसर पनि प्राप्त गरेका छन्।
यस्तै, दुई देशका फोटो पत्रकारबीच भविष्यमा संयुक्त प्रदर्शनी, तालिम तथा सहकार्यका कार्यक्रम सञ्चालन गर्ने सम्भावनासमेत बलियो बनेको छ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालको बंगलादेश भ्रमण केवल औपचारिक भ्रमणमा सीमित नभई मित्रता, पत्रकारिता, संस्कृति र पर्यटन प्रवर्द्धनको प्रभावकारी अभियानका रूपमा सफल भएको मूल्यांकन गरिएको छ।
‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी, अन्तर्राष्ट्रिय सेमिनार, सम्मान कार्यक्रम तथा उच्चस्तरीय भेटघाटहरूले नेपाल–बंगलादेश सम्बन्धलाई थप उचाइमा पुर्याएको तथा दक्षिण एसियाली फोटो पत्रकारितामा सहकार्यको नयाँ अध्याय सुरु गरेको सहभागीहरूको विश्वास छ।