ArthaDrishti.com
02/Jun/2026
मे महिनामा नेपालमा एक लाखभन्दा बढी विदेशी पर्यटक आगमन, महामारीअघिको स्तरभन्दा ३१ प्रतिशत वृद्धि
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रले उत्साहजनक गति लिइरहेको छ। सन् २०२६ को मे महिनामा नेपालमा हवाईमार्गबाट आउने अन्तर्राष्ट्रिय पर्यटक (International Visitor Arrivals–IVAs) को संख्या १...
यो संख्या सन् २०२५ को सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो। गत वर्ष मे महिनामा ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ महामारीअघि सन् २०१९ को मे महिनाको तुलनामा यस वर्षको आगमन संख्या ३१ प्रतिशतले उच्च रहेको छ। सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ विदेशी पर्यटक नेपाल आएका थिए।
नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा भारत नेपाल भ्रमण गर्ने सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। भारतबाट ४० हजार ७८२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३९.७४ प्रतिशत हो।
दोस्रो स्थानमा चीन रहेको छ। चीनबाट ११ हजार ५१४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२२ प्रतिशत हो। त्यसपछि संयुक्त राज्य अमेरिका (यूएसए) बाट ९ हजार १ जना, बंगलादेशबाट ५ हजार २९८ जना तथा बेलायतबाट ३ हजार ३७५ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।
क्षेत्रगत आधारमा हेर्दा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूबाट कुल पर्यटक आगमनको ४७.२ प्रतिशत हिस्सा रहेको छ। अन्य एसियाली मुलुकहरूको हिस्सा १९.९ प्रतिशत, युरोपको १३.१ प्रतिशत, अमेरिकाज क्षेत्रको १०.३ प्रतिशत तथा अन्य क्षेत्रहरूको ४.५ प्रतिशत रहेको छ।
त्यस्तै, ओसिनिया क्षेत्रबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत तथा अफ्रिकी मुलुकहरूबाट ०.३ प्रतिशत पर्यटक नेपाल आएका छन्।
पर्यटन क्षेत्रका जानकारहरूले पछिल्ला महिनाहरूमा देखिएको निरन्तर वृद्धिले नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास बढ्दै गएको संकेत गरेको बताएका छन्। साथै, नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने अभियानमा यस्ता तथ्यांकले सकारात्मक ऊर्जा प्रदान गरेको उनीहरूको भनाइ छ।
पर्यटन व्यवसायीहरूका अनुसार हिमाल, साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदाप्रतिको आकर्षणले विदेशी पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको हो।