ArthaDrishti.com
31/May/2026
‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला, नेपाली आईटी कम्पनीलाई विश्व मञ्चमा पुग्ने अवसर
काठमाडौं । नेपाली सूचना प्रविधि क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ (ASOCIO Digital AI Award 2026)...
एसियन–ओशिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) द्वारा आयोजना गरिने उक्त अवार्डमा नेपालको तर्फबाट डिजिटल अर्थतन्त्र तथा कृत्रिम बुद्धिमत्ता (AI) को क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका कम्पनी, स्टार्टअप तथा संस्थाहरूले प्रतिस्पर्धा गर्न सक्नेछन्।
यस वर्षको अवार्डको मुख्य विषय ‘नेपाली टेक उद्यमीका लागि विश्वव्यापी प्रदर्शनको अवसर’ रहेको छ। अवार्डमार्फत नेपाली प्रविधि कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्दै विश्वस्तरीय मान्यता हासिल गर्ने अवसर पाउने आयोजकले जनाएको छ।
एसोसियोका उपाध्यक्ष नवराज कुँवरले नेपाली प्रविधि उद्यमीहरूका लागि यो ऐतिहासिक अवसर भएको उल्लेख गर्दै आफ्ना उत्पादन तथा सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसरका रूपमा अवार्डलाई लिन आग्रह गरे।
त्यसैगरी, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सम्पूर्ण नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा सरोकारवालाहरूलाई आवेदन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार यो मञ्चले नेपाली समाजमा स्थानीय प्रविधिले पारेको सकारात्मक प्रभावलाई विश्वसामु प्रस्तुत गर्नुका साथै नेपाली प्राविधिक प्रतिभाको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।
क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले आवेदन प्रक्रिया थप सहज र प्रभावकारी बनाउन महासंघले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
## आठ विधामा अवार्ड
यस वर्ष कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगमार्फत विभिन्न क्षेत्रमा रूपान्तरण ल्याउने उत्कृष्ट पहलहरूलाई आठ विधामा सम्मान गरिनेछ। तीमध्ये साइबर सुरक्षा, सार्वजनिक हित, शिक्षा, स्वास्थ्य, स्मार्ट कृषि, वित्तीय सेवा, भविष्यका सीप विकास तथा उत्पादन र सप्लाइ चेन व्यवस्थापनसम्बन्धी एआई समाधानहरू समावेश छन्।
## को-को हुन सक्छन् योग्य?
अवार्डका लागि साना तथा मझौला उद्यम (SMEs), ठूला कर्पोरेट संस्था, स्टार्टअप, सरकारी निकाय, शैक्षिक तथा अनुसन्धान संस्था तथा गैरनाफामूलक संस्थाहरूले आवेदन दिन सक्नेछन्।
आवेदनका लागि प्रस्तावित एआई समाधान कम्तीमा पाइलट चरणमा कार्यान्वयन भइसकेको हुनुपर्नेछ र विगत २४ महिनाभित्र त्यसबाट स्पष्ट नतिजा प्राप्त भएको हुनुपर्ने मापदण्ड तोकिएको छ। एक आवेदकले एक मात्र विधामा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
## जुन १५ सम्म आवेदन
अवार्डका लागि आवेदन दिने अन्तिम मिति १५ जुन २०२६ तोकिएको छ। विजेताहरूको घोषणा ३० जुन २०२६ मा गरिनेछ भने अवार्ड वितरण समारोह ३० जुलाई २०२६ मा आयोजना हुने ‘एसोसियो डिजिटल एआई समिट २०२६’ का अवसरमा सम्पन्न हुनेछ।
इच्छुक संस्थाहरूले तोकिएको ढाँचाअनुसार चारदेखि पाँच पृष्ठको प्रस्ताव पेश गर्नुपर्नेछ। प्रस्तावमा कार्यकारी सारांश, संस्थाको पृष्ठभूमि, एआई परियोजनाको प्राविधिक उत्कृष्टता तथा उत्तरदायी एआई व्यवस्थापन (Responsible AI & Governance) सम्बन्धी विवरण समावेश गर्नुपर्ने जनाइएको छ।
आयोजकका अनुसार यस अवार्डले नेपाली प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न, विदेशी साझेदारी आकर्षित गर्न तथा स्वदेशी नवप्रवर्तनलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।