ArthaDrishti.com
31/May/2026
सगरमाथा दिवसमा हिमाल संरक्षणको चिन्ता, ‘सगरमाथा विजय गर्ने होइन, अनुभूति गर्ने विषय’
काठमाडौं । ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढ्दो जोखिममा परेको भन्दै हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले सगरमाथा केवल आरोहणको गन्तव्य नभई मानव सभ्यताको साहस, चेतना र आध्यात्मिक अनुभूतिको प्रतीक भएको बताए।
“सगरमाथा विजयी हुने चिज होइन, यो एउटा अनुभूति हो। सम्भवतः सबैको भाग्यमा त्यो अनुभूति लेखिएको हुँदैन,” मन्त्री पौडेलले भने, “हिमाल हाम्रो मात्र होइन, संसारकै साझा सम्पत्ति हो। हिमाल सुरक्षित रहे मात्रै मानव जीवन सुरक्षित रहन सक्छ।”
उनले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको उल्लेख गर्दै यसको असर तटीय क्षेत्रदेखि मानव जीवन र जैविक प्रणालीसम्म पर्ने चेतावनी दिए। “सगरमाथासहित अन्य हिमालहरू जोखिममा छन्। हिमालको उचाइभन्दा अझ माथि मानवताको चेतना हुनुपर्छ,” उनले भने।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा देखिन थालेको भन्दै हिमाल संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जेन शेर्पाले नेपालको पर्वतीय पर्यटन विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्माणाधीन पर्यटन ऐन निजी क्षेत्रमैत्री हुनुपर्ने धारणा राखे।
“२०३३ सालदेखि निरन्तर नेपालको हिमाल, आरोहण गतिविधि र पर्वतीय पर्यटनलाई विश्वसामु चिनाउने काम गरिरहेका छौं,” उनले भने, “निजी क्षेत्रको साथबिना सरकार एक्लैले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन।”
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले चालु वसन्त आरोहण सिजनमा सगरमाथासहित विभिन्न हिमाल आरोहणका क्रममा विदेशी आरोही र नेपाली शेर्पा गाइड गरी सात जनाले ज्यान गुमाएको जानकारी दिए। केही नेपाली तथा विदेशी आरोही उपचाररत रहेको समेत उनले बताए।
उनले सगरमाथा दिवसलाई पर्वतीय पर्यटनको संरक्षण, व्यवस्थापन, प्रवर्द्धन तथा अध्ययन–अनुसन्धानको समीक्षा गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे। “हिमाली क्षेत्रको संरक्षण, हिमश्रृंखलाको अन्तर्राष्ट्रिय प्रवर्द्धन, पारिस्थितिक सन्तुलन कायम गर्ने प्रणालीको विकास र पर्यटकीय सुशासन आजको आवश्यकता हो,” उनले भने।
कार्यक्रममा पर्वतीय पर्यटन, सगरमाथा आरोहण, खोज तथा उद्धार र अध्ययन–अनुसन्धान क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
यस क्रममा ३१ पटक सगरमाथा आरोहण गरेका पासाङ दावा शेर्पालाई ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’, हेलिकप्टर पाइलट प्रिया अधिकारीलाई ‘तेन्जिङ–हिलारी खोज तथा उद्धार पुरस्कार’, तेन्जिङ डेभिड शेर्पालाई ‘तेन्जिङ–हिलारी कीर्तिमानी आरोही पुरस्कार’ तथा पूर्णिमा श्रेष्ठलाई ‘पेमा डोमा महिला आरोही पुरस्कार’ प्रदान गरिएको थियो।
त्यसैगरी, हिमाली क्षेत्रको अध्ययन तथा अनुसन्धानमा योगदान पुर्याएको भन्दै भूगोलविद् प्रा.डा. विशालनाथ उप्रेतीलाई ‘तेन्जिङ–हिलारी अध्ययन तथा अनुसन्धान पुरस्कार’ प्रदान गरिएको थियो।
कार्यक्रममा सगरमाथाको खुम्बु आइसफल क्षेत्रमा डोरी व्यवस्थापन गर्ने ‘आइसफल डाक्टर’ टोली, सगरमाथा र ल्होत्से हिमालमा बाटो खोल्ने डोरी फिक्सिङ टोली तथा पर्यटन विभागका सम्पर्क अधिकृतहरूको योगदानको समेत प्रशंसा गरिएको थियो।
यस वर्ष ‘सगरमाथा : पहिचान र गौरव’ नारासहित अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको हो। कार्यक्रममा हिमाल संरक्षण, जलवायु परिवर्तनका चुनौती, पर्वतीय पर्यटनको दिगोपना तथा हिमाली संस्कृतिको संरक्षणमा विशेष जोड दिइएको थियो।