ArthaDrishti.com
28/May/2026
नेपाल–साउदी आर्थिक सहकार्य विस्तारबारे चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूतबीच भेट
काठमाडौं । Nepal Chamber of Commerce का अध्यक्ष Kamlesh Kumar Agrawal र नेपालका लागि Saudi Arabia का राजदूत Fahad Mohammed A. Al-Manik बीच द्विपक्षीय व्यापार, लगानी...
मंगलबार नेपाल चेम्बर अफ कमर्स सचिवालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध, लगानी प्रवर्द्धन, पर्यटन विकास तथा खाडी क्षेत्रमा कार्यरत नेपाली नागरिकको सुरक्षा लगायतका विषयमा विस्तृत छलफल भएको चेम्बरले जनाएको छ ।
भेटका क्रममा अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालका लागि महत्वपूर्ण आर्थिक साझेदार रहेको उल्लेख गरे । उनले वैदेशिक रोजगारी, विप्रेषण र लगानीका दृष्टिले साउदी अरेबियाको भूमिका नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको बताए ।
अग्रवालका अनुसार नेपाल र साउदी अरेबियाबीच हाल करिब १० मिलियन अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार भइरहेको छ । जसमा करिब ९ मिलियन डलर बराबरको आयात तथा १ मिलियन डलर बराबरको निर्यात हुने गरेको जानकारी दिए । उनले श्रम सहकार्यमा मात्र सीमित नरही व्यापार, पर्यटन, लगानी तथा आर्थिक विकासका क्षेत्रमा समेत सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे ।
उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्वसँगै निजी क्षेत्र उत्साहित रहेको र साउदी लगानी विस्तारका लागि उपयुक्त वातावरण बनेको बताए ।
अध्यक्ष अग्रवालले साउदी अरेबियाबाट प्राप्त हुने विप्रेषण नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै हजारौं नेपाली युवाले साउदीमा रोजगारी पाइरहेको बताए । निर्माण, पूर्वाधार, सुरक्षा सेवा, आतिथ्य तथा पर्यटन, स्वास्थ्य सेवा, यातायात र लजिस्टिक्स क्षेत्रमा नेपालीहरू कार्यरत रहेको उनले जानकारी दिए ।
साउदी अरेबियाको ‘भिजन २०३०’ कार्यक्रमले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै अग्रवालले ‘नियोम’, ‘रेड सी परियोजना’ तथा ‘किद्दिया’ जस्ता मेगा परियोजनामा नेपाली जनशक्ति, ठेकेदार तथा सहयोगी उद्योगहरूले योगदान दिन सक्ने बताए ।
राजदूत मनिकले साउदी अरेबिया विदेशी लगानी र आर्थिक साझेदारीका लागि थप खुला हुँदै गएको बताए । आगामी सन् २०३४ को फिफा विश्वकप तथा एक्स्पो २०३० जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले विभिन्न क्षेत्रमा लगानी र सहकार्यका थप अवसर सिर्जना गर्ने उनको भनाइ थियो ।
छलफलका क्रममा पश्चिम एसियाको पछिल्लो अवस्थाबारे पनि विचार आदानप्रदान भएको थियो । विशेषगरी त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षा र हितका विषयमा दुवै पक्षले चासो व्यक्त गरेका थिए ।
भेटमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष Deepak Kumar Malhotra समेत सहभागी थिए ।
नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले सन् १९७८ मा रियादमा दूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०२२ मा काठमाडौंमा दूतावास स्थापना गरेको हो ।