ArthaDrishti.com
24/May/2026
V-Chitra लाई ACEF ग्लोबल अवार्डमा दुई स्वर्ण, नेपालको खेलकुद मार्केटिङले अन्तर्राष्ट्रिय पहिचान पायो
काठमाडौं । नेपालको एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सी भी-चित्र प्रा. लि. ले १५औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा दुई स्वर्ण पुरस्कार जित्दै नेपालको खेलकुद...
भारतको गोरेगाउँ इस्टस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा गत अप्रिल ३० मा आयोजित कार्यक्रममा भी-चित्रले बिराटनगर किंग्सको NPL सिजन–२ सामाजिक सञ्जाल अभियान तथा नेपाल सुपर लिग (NSL) सिजन–३ को इभेन्ट व्यवस्थापनका लागि स्वर्ण अवार्ड प्राप्त गरेको हो ।
एजेन्सीले बिराटनगर किंग्सका लागि “Kingdom” अवधारणामा आधारित डिजिटल अभियान सञ्चालन गरेको थियो । अभियानअन्तर्गत खेलाडी सार्वजनिक कार्यक्रम, मस्कट परिचय, ट्रफी टुर तथा खेलका महत्वपूर्ण क्षणलाई एउटै कथात्मक शैलीमा प्रस्तुत गरिएको थियो । इन्स्टाग्राम, टिकटक, फेसबुक र युट्युबमार्फत सिजनभर १ हजार ७ सयभन्दा बढी सामग्री प्रकाशन गरिएको जनाइएको छ ।
अभियानको प्रमुख आकर्षणका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटर फाफ डु प्लेसिसको सार्वजनिक घोषणा रहेको थियो । उक्त टिजर पोस्टले मात्रै ११ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको थियो । सिजनको अन्त्यसम्म इन्स्टाग्राममा ७ करोड ३९ लाख र टिकटकमा २ करोड ९० लाखभन्दा बढी भ्यूज प्राप्त भएको तथा ४५० भन्दा बढी मिडिया कभरेज हासिल गरिएको भी-चित्रले जनाएको छ ।
त्यसैगरी, “Uniting Nepal Through Football” अवधारणामा आधारित नेपाल सुपर लिग सिजन–३ को थिम तथा डिजाइनका लागि एजेन्सीले दोस्रो स्वर्ण पुरस्कार जितेको हो । अभियानअन्तर्गत दशरथ रंगशालामा २३० भन्दा बढी ब्रान्डिङ सामग्री प्रयोग गरिएको थियो भने पहिलोपटक सात सहरमा ट्रफी टुर आयोजना गरिएको थियो ।
साथै, डिजिटल माध्यममार्फत रंगशालाको अनुभव ५० भन्दा बढी देशका दर्शकसम्म पुर्याइएको जनाइएको छ । लिगको मस्कटका रूपमा अटिजम भएका बालबालिकाको सहभागिताले सामाजिक समावेशिता र उत्तरदायित्वको सन्देश दिएको आयोजकले जनाएको छ ।
भी-चित्रका अनुसार नेपाल सुपर लिग लगातार ३० दिनसम्म राष्ट्रिय ट्रेन्डमा रहँदा टिकटकमा ४५ करोड ९० लाखभन्दा बढी भ्यूज प्राप्त भएको थियो । अभियानबाट १२ करोड ३४ लाख रुपैयाँ बराबरको पीआर मिडिया भ्यालु सिर्जना भएको दाबी गरिएको छ ।
भी-चित्रले यी अभियानहरूले खेलकुद तथा मनोरञ्जन क्षेत्रका सामग्रीलाई सांस्कृतिक रूपमा अर्थपूर्ण र डिजिटल रूपमा प्रभावशाली कथामा रूपान्तरण गर्ने आफ्नो क्षमता प्रमाणित गरेको जनाएको छ ।
भी-चित्र प्रा. लि. नेपालका अग्रणी एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सीमध्ये एक हो । एजेन्सीले जनसम्पर्क, डिजिटल मिडिया, इभेन्ट व्यवस्थापन, इन्फ्लुएन्सर मार्केटिङ तथा क्रियटिभ रणनीतिमा आधारित सेवाहरू प्रदान गर्दै आएको छ ।