ArthaDrishti.com
24/May/2026
एआई प्रविधिसहित साओमीका नयाँ ग्याजेट बजारमा, स्मार्ट ट्र्याकिङदेखि प्रिमियम अडियोसम्म
काठमाडौं । Xiaomi ले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (आईओटी) उपकरण ‘साओमी ट्याग’ र ‘रेड्मी हेडफोन नियो’ सार्वजनिक गरेको छ...
हराएका सामग्री सजिलै फेला पार्ने ‘साओमी ट्याग’
साओमी ट्याग केवल १० ग्राम तौलको ट्र्याकिङ उपकरण हो, जसलाई चाबी, पर्स, झोला तथा सुटकेसजस्ता व्यक्तिगत सामग्रीमा प्रयोग गर्न सकिन्छ । विशेष ट्र्याकिङ एपमार्फत यसलाई विभिन्न उपकरणसँग जोड्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रयोगकर्ताले सामग्री हराएमा ‘लस्ट मोड’ सक्रिय गरेर त्यसलाई हराएको सामग्रीका रूपमा चिन्हित गर्न सक्नेछन् । त्यसपछि उक्त सामग्री कसैले फेला पारेमा मालिकको सम्पर्क विवरण देखिने भएकाले सामग्री फिर्ता पाउन सहज हुने बताइएको छ ।
यसमा अनधिकृत ट्र्याकिङसम्बन्धी चेतावनी प्रणाली, सुरक्षित ट्र्याकिङ सुविधा तथा एक वर्षसम्म टिक्ने ब्याट्री जडान गरिएको छ । साथै आईपी ६७ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमताका कारण यसले सामान्य झट्का तथा दैनिक प्रयोग सहज रूपमा सहन सक्ने कम्पनीको दाबी छ ।
‘रेड्मी हेडफोन नियो’मा एआई–आधारित न्वाइज क्यान्सिलेसन
Redmi को नयाँ ‘रेड्मी हेडफोन नियो’मा ४२ डेसिबलसम्मको सक्रिय न्वाइज क्यान्सिलेसन सुविधा दिइएको छ । यसले बाहिरी अनावश्यक आवाजलाई कम गरी स्पष्ट र गुणस्तरीय श्रव्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
हेडफोनमा ४० मिलिमिटरको डायनामिक ड्राइभर जडान गरिएको छ, जसले गहिरो बास र शक्तिशाली ध्वनि अनुभव दिने बताइएको छ । पूर्ण चार्जमा ७२ घण्टासम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ ।
यसमा एआईमा आधारित ध्वनि शुद्धीकरण प्रणालीसहित तीनवटा माइक्रोफोन जडान गरिएका छन्, जसले फोन कललाई अझ स्पष्ट र भरपर्दो बनाउने कम्पनीले उल्लेख गरेको छ ।
मूल्य र उपलब्धता
रेड्मी हेडफोन नियो कालो र हल्का सेतो (स्यान्ड ह्वाइट) रंगमा उपलब्ध हुनेछ । यसको मूल्य १२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी साओमी ट्यागको मूल्य २ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।