ArthaDrishti.com
19/May/2026
डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’ ले देखायो ज्ञानमा आधारित अर्थतन्त्रको बाटो
काठमाडौं । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्दै स्नातकहरूको रोजगार क्षमताको अन्तर कम गर्ने उद्देश्यसहित आयोजित ‘स्टडी इन नेपाल एण्ड ट्रान्सनेशनल एजुकेशन (TNE) फोरम...
ललितपुरको कुपोण्डोलस्थित होटल हिमालयमा आयोजित उक्त फोरममा अन्तर्राष्ट्रिय कूटनीतिज्ञ, शैक्षिक नेतृत्वकर्ता, व्यवसायिक विज्ञ तथा नीति निर्माताहरू सहभागी हुँदै नेपालको उच्च शिक्षा प्रणाली सुधार, ट्रान्सनेशनल एजुकेशन (TNE) को विस्तार तथा रोजगारमुखी शिक्षाको आवश्यकता विषयमा गहन छलफल गरेका हुन् ।
ग्लोकल प्रालिको आयोजनामा सम्पन्न फोरममा एकेडेमिक पार्टनरका रूपमा काठमाडौं विश्वविद्यालय र एम्बार्क कलेज, नलेज पार्टनरका रूपमा टाइम्स हायर एजुकेशन (THE), सहयोगी नलेज पार्टनरका रूपमा युनेस्को (UNESCO), इन्डस्ट्री पार्टनरका रूपमा नेपाल उद्योग परिसंघ (CNI), एसोसिएसन पार्टनरका रूपमा इपान (IEPAN) तथा मिडिया पार्टनरका रूपमा द काठमाडौं पोस्ट र कान्तिपुर मिडिया ग्रुप (KMG) आबद्ध थिए ।
कार्यक्रममा वक्ताहरूले नेपाललाई विद्यार्थी बाहिरिने देशबाट क्षेत्रीय शैक्षिक गन्तव्यका रूपमा रूपान्तरण गर्न आवश्यक नीति, पूर्वाधार र सहकार्यबारे धारणा राखेका थिए ।
वैश्विक शैक्षिक प्रवृत्तिदेखि नीतिगत बहससम्मफोरमको सुरुवात टाइम्स हायर एजुकेशनका एशले मोकको प्रस्तुतीबाट भएको थियो । उनले विश्वव्यापी शैक्षिक प्रवृत्ति र दक्षिण एसियाली परिवेशमा नेपालको सम्भावनाबारे चर्चा गरेका थिए ।
त्यसैगरी, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्ले, अर्थशास्त्री प्रा. डा. अच्युतप्रसाद वाग्ले तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव परशुराम तिवारीले ट्रान्सनेशनल एजुकेशनको अवधारणा, नेपालमा यसको सम्भावना र सरकारी सहजीकरणबारे धारणा राखेका थिए ।
नेपाललाई क्षेत्रीय शैक्षिक केन्द्र बनाउने बहसग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुरको सहजीकरणमा सम्पन्न पहिलो प्यानल छलफल ‘नेपाल एक क्षेत्रीय शैक्षिक केन्द्रका रूपमा’ केन्द्रित थियो ।
छलफलमा नेपालका लागि बेलायती राजदूत रोब फेन, अष्ट्रेलियाली दूतावासका डेपुटी हेड अफ मिसन ग्रेग क्लेम, आईईसी कलेजकी सीईओ तथा प्रबन्ध निर्देशक शैलजा अधिकारी तथा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. महानन्द चालिसे सहभागी थिए ।
प्यानलले नेपाललाई विश्वसनीय क्षेत्रीय शैक्षिक गन्तव्य बनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तर सुनिश्चितता, पारदर्शी क्रेडिट ट्रान्सफर प्रणाली तथा स्पष्ट नियामक ढाँचा आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।
‘KASH’ मोडलमार्फत रोजगार अन्तर कम गर्ने प्रस्तावदोस्रो प्यानल छलफल शिक्षाको गुणस्तर र रोजगार क्षमताबीचको सम्बन्धमा केन्द्रित थियो । डाइनामिक पब्लिक स्कूलका प्रिन्सिपल डा. एनडी लामाको सहजीकरणमा सम्पन्न उक्त सत्रमा युनेस्कोका प्रतिनिधि जाको डु टोइट, सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे, नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टकी निमित्त डिन डा. रोशी लामिछाने सहभागी थिए ।
छलफलमा ‘KASH’ मोडल— Knowledge (ज्ञान), Attitude (दृष्टिकोण), Skills (सीप) र Habit (बानी) मा आधारित शिक्षा प्रणालीमार्फत उद्योगले खोज्ने व्यावहारिक क्षमता विकास गर्न सकिने धारणा प्रस्तुत गरिएको थियो । वक्ताहरूले पाठ्यक्रमलाई सैद्धान्तिक शिक्षामा सीमित नराखी रोजगारमुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।
‘ब्रेन ड्रेन’ रोक्न ज्ञानमा आधारित अर्थतन्त्रको आवश्यकताफोरम उद्घाटन गर्दै ग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुरले नेपालले श्रम र पर्यटनमा मात्र निर्भर नरही ज्ञान, अनुसन्धान, नवप्रवर्तन र शिक्षामा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका थिए ।
उनले हाल नेपालमा करिब ५६ वटा TNE प्रदायकमार्फत ३४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रबाट २४ करोड ८० लाख रुपैयाँ आयकर तथा १ करोड ५० लाख रुपैयाँभन्दा बढी विद्यार्थी नियमन शुल्क संकलन भएको उल्लेख गरे ।
ठाकुरले नेपालले डिजिटल सिकाइ, अन्तर्राष्ट्रिय सहकार्य र विशिष्टीकृत शैक्षिक कार्यक्रममार्फत वैश्विक शिक्षा क्षेत्रमा योगदान गर्न सक्ने धारणा राखे ।
संयुक्त नेतृत्व समिति गठनकार्यक्रमको समापनमा ग्लोकल प्रालिकी प्रबन्ध निर्देशक काजोल झाले फोरमको प्रमुख उपलब्धिका रूपमा ‘ज्वाइन्ट लिडरसिप कमिटी’ गठन भएको घोषणा गरिन् ।
उनका अनुसार उक्त समितिले ट्रान्सनेशनल एजुकेशनसँग सम्बन्धित नियामक स्थिरता, सम्बन्धन प्रक्रिया तथा क्रेडिट मान्यतासम्बन्धी विषयलाई नीतिगत तहसम्म लैजाने काम गर्नेछ ।
झाले ‘स्टडी इन नेपाल’ केवल नारामात्र नभई दीर्घकालीन राष्ट्रिय अभियानका रूपमा अघि बढाइने बताउँदै आगामी वर्ष थप बलियो साझेदारी र मापनयोग्य उपलब्धिसहित फोरमलाई निरन्तरता दिइने उल्लेख गरिन् ।
फोरमले अन्तर्राष्ट्रिय विश्वविद्यालय साझेदारी, शिक्षण गुणस्तर, नीतिगत सामञ्जस्यता तथा रोजगार तत्परताका विषयमा बहस अघि बढाउँदै नेपाललाई दिगो ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अग्रसर गराउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको आयोजकले जनाएको छ ।