ArthaDrishti.com
14/May/2026
नेपालले प्रकृती, संस्कृती र समुदायमा आधारित वेलनेस पर्यटन प्रबर्द्धन गर्नुपर्नेमा जोड
काठमाडौं । नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा...
त्यसैगरी नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपाल विश्वव्यापी वेलनेस यात्राका लागि प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताए । उनले वेलनेस केवल सेवा नभई जीवनशैली भएको उल्लेख गर्दै नेपाली संस्कृति, परम्परा र प्राकृतिक वातावरणले विश्वलाई प्रेरित गर्ने बताएका हुन् । उनले थपे, “नेपालले प्रकृति, संस्कृति र साहसिक अनुभवमार्फत विश्वलाई प्रेरणा दिन सक्छ । नेपालको संस्कृती र प्रकृती नै आरोग्य पर्यटनका लागि उत्कृष्ट स्रोतहरु हुन् ।”
कार्यक्रमका मुख्य वक्ता हङकङ पोलिटेक्निक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ होटल एण्ड टुरिजम् म्यानेजमेन्टका सहायक डिन प्रा.डा. डेनिज क्युचकुस्ताले “नेपाल: सेक्रेड ल्याण्ड टु वेलनेस डेस्टिनेसन” विषयमा प्रस्तुती दिएकी छन् । उनले विश्वभरका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभवको खोजीमा यात्रा गरिरहेको उल्लेख गर्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताइन् । प्रा.डा. डेनिजले वेलनेस पर्यटनका प्रमुख विश्वव्यापी प्रवृत्तिमा आध्यात्मिक तथा रूपान्तरणकारी यात्रा, प्रकृतिमा आधारित वेलनेस, फरेस्ट थेरापी र डिजिटल डिटक्स रहेको उल्लेख गरेकी छन् । “नेपालले वेलनेस आविष्कार गर्न आवश्यक छैन, यसलाई व्यवस्थित मात्र गर्नुपर्ने छ,” उनले भने । उनले वेलनेस पर्यटनमा नेपालको मौलिकता जोगाउनु अत्यन्त आवश्यक रहेको र स्थानीय समुदायसँगको सहकार्यले मात्र दीगो विकास सम्भव हुने धारणा व्यक्त गरिन् ।
त्यसैगरी योग गुरु डा. प्रकाश आचार्यले योग र प्राणायामको महत्वबारे चर्चा गर्दै आधुनिक जीवनशैलीका कारण मौलिक योग अभ्यास हराउँदै गएको स्मरण गराए । “योग केवल व्यायाम होइन, समग्र जीवनशैली हो,” उनले भने । उनले स्वस्थ जीवनका लागि नियमित प्राणायाम अभ्यास आवश्यक रहेकोमा जोड दिए ।
वेलनेस अभियन्ता प्रेणा शाहले वेलनेस अहिले विश्वकै सबैभन्दा ठूलो उद्योगमध्ये एक बनिरहेको बताइन् । उनले नेपाललाई केवल ट्रेकिङ गन्तव्यका रूपमा मात्र नभई वेलनेस गन्तव्यका रूपमा पनि विश्वसामु प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याइन् । “हाम्रो संस्कृति, खानपान र दैनिक जीवनशैलीमै मौलिक वेलनेस अभ्यास छ । हामीले अन्य देशको नक्कल गर्नु पर्दैन, आफ्नै मौलिकता जोगानुपर्ने देखिन्छ,” उनले भनिन्।
कार्यक्रमको सुरुवात साउण्ड हिलिङ सेसनबाट गरिएको थियो, जहाँ विभिन्न ध्वनिमार्फत मानसिक शान्ति र ऊर्जाको अनुभूति गराइएको थियो । त्यसैगरी कार्यक्रको सहजीकरण बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले गरेका थिए । बोर्डका वरिष्ठ अधिकृत रेग्मीले नेपाल सरकारले प्राथमिकतामा राखेको र अहिलेको अशान्त विश्वले शान्ति र आरोग्य खोजिरहेको समयमा नेपाल वेलनेस पर्यटनका लागि उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गराउन बोर्ड सक्रिय रहेको उल्लेख गरेका छन् । कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेसहित पर्यटन व्यवसायी, योग तथा वेलनेस विज्ञ, बोर्डको पदाधिकारीहरु तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।