ArthaDrishti.com
06/May/2026
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरको सफलता दर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी
ललितपुर। किष्ट मेडिकल कलेज शिक्षण अस्पतालअन्तर्गत सञ्चालित किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये...
अस्पतालका अनुसार सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न सकिने सफलता दर कायम गर्दै नेपालकै अग्रणी मिर्गौला प्रत्यारोपण केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।
सेन्टरले स्थापना कालदेखि नै आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवामा प्राथमिकता दिँदै आएको छ। अनुभवी चिकित्सक तथा प्राविधिक टोलीको समन्वयमा उपचार सेवा प्रदान गर्दै सकारात्मक नतिजा हासिल गरिएको अस्पतालको भनाइ छ।
हाल सेन्टरमा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण गरिँदै आएको छ। दाताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै विस्तृत परीक्षण गरिनुका साथै शल्यक्रियापछि नियमित अनुगमनको व्यवस्था गरिएको छ।
त्यसैगरी, ‘पेयर्ड एक्सचेन्ज’ प्रणालीमार्फत दाता नमिलेका बिरामीहरूलाई पनि प्रत्यारोपणको अवसर प्रदान गरिँदै आएको छ। यस विधिअन्तर्गत दुई बिरामी–दाता समूहबीच मिलान गरी मिर्गौला साटासाट गरेर प्रत्यारोपण गरिन्छ।
ल्यापारोस्कोपिक प्रविधिबाट गरिने शल्यक्रियाका कारण दातालाई कम पीडा, न्यून रक्तस्राव तथा छिटो स्वास्थ्य लाभ हुने सुविधा उपलब्ध भएको अस्पतालले जनाएको छ।
सेन्टरले गुणस्तरीय, सुरक्षित र पहुँचयोग्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा अझ बढी बिरामीलाई सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।