ArthaDrishti.com
04/May/2026
अप्रिल २०२६ मा नेपालमा १.०७ लाख पर्यटक भित्रिए, सार्क क्षेत्रबाट सबैभन्दा बढी आगमन
काठमाडौं | सन् २०२६ को अप्रिल महिनामा नेपालमा एक लाख ७ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड ले सोमबार सार्वजनिक गरेको...
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) क्षेत्रबाट सबैभन्दा धेरै ३३ हजार ४३२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३१ प्रतिशत हो। त्यसपछि अन्य एशियाली मुलुकहरूबाट २६ हजार ७२६ पर्यटक भित्रिएका छन्। यस्तै, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७ तथा अफ्रिकी मुलुकबाट ३१५ पर्यटक नेपाल आएका छन्। अन्य मुलुकहरूबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन्।
देशगत रूपमा भारतपछि चीन नेपालका लागि प्रमुख स्रोत बजारका रूपमा देखिएको छ। तथ्यांकअनुसार भारतबाट १५ हजार १९६ पर्यटक भित्रिँदा चीनबाट ११ हजार ७२२ र बंगलादेशबाट ५ हजार २३१ पर्यटक नेपाल आएका छन्। यससँगै अन्य एशियाली मुलुक, युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या पनि क्रमशः बढ्दो क्रममा रहेको देखिन्छ, जसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ।
तुलनात्मक रूपमा हेर्दा सन् २०२५ को अप्रिलमा नेपालमा १ लाख १६ हजार ४९० पर्यटक भित्रिएका थिए भने कोरोना महामारीअघि सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आएका थिए।
पछिल्लो समय पश्चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध, अन्तर्राष्ट्रिय प्रवर्द्धनमा प्रभावलगायत कारण अप्रिल महिनाको पर्यटक आगमनमा केही दबाब परेको देखिन्छ। पर्यटन क्षेत्रको दिगो वृद्धि सुनिश्चित गर्न डिजिटल मार्केटिङ सुदृढ बनाउने, नेपाललाई सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने रणनीति अवलम्बन गर्न आवश्यक देखिएको छ।