ArthaDrishti.com
07/Dec/2025
नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच ऐतिहासिक समझदारी, पर्यटन प्रबर्द्धनमा संयुक्त अभियान
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच नेपालका पर्यटकीय गन्तव्य तथा उत्पादनको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रबर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको...
समझदारीअनुसार दुवै संस्थाले विश्वका पर्यटन मेला, डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचार–प्रसार, मेगा इभेन्ट र ब्रान्डिङमा सहकार्य गर्नेछन् । बोर्डले विदेशी मेला, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलन तथा फ्याम ट्रिपमा नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन’ का रूपमा निःशुल्क सहभागिता दिनेछ भने निगमले १०० किलोसम्म प्रवर्द्धन सामग्री निःशुल्क ढुवानी, उपहार टिकट तथा रियायती टिकट सुविधा उपलब्ध गराउनेछ ।
प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर र सेलिब्रिटीहरूलाई नेपाल ल्याउने फ्याम ट्रिप, डिजिटल विज्ञापन, प्रमोशन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, होर्डिङ बोर्ड, ब्रोसर, गाइडबुक तथा सांस्कृतिक सामग्री निर्माणमा पनि दुवै संस्था एकीकृत रूपमा काम गर्नेछन् । विदेशी राष्ट्रिय दिवस वा व्यापारिक कार्यक्रममा संयुक्त उपस्थिति तथा नेपालमा हुने मेगा इभेन्टमा निगमले सहुलियत टिकट उपलब्ध गराउने सहमति भएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले यो सहकार्यलाई “नेपाली ब्रान्डको विश्वव्यापी प्रचार र प्रबर्द्धनका लागि ऐतिहासिक कदम” भनेका छन् । उनले भने, “नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो र पर्यटन यसको मूल चालक शक्ति । विमानस्थलदेखि गन्तव्यसम्म एकीकृत प्रवर्द्धनले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बन्छ ।”
यो सहकार्यले नेपालको पर्यटन प्रवर्द्धन संरचनालाई गतिशील, समन्वित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ । दुवै संस्थाले हरेक छ महिनामा संयुक्त प्रतिवेदन तयार गरी कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्नेछन् ।